काठमाडौँ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयले सोमबार सूचना जारी गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारण खुलाउँदै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी नियमावली, २०७१ को नियम ११५ बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना टाँस गर्दा समेत ती कर्मचारी सम्पर्कमा आएका थिएनन्।
तोकिएको अवधिभित्र कार्यालयमा उपस्थित नभए प्रहरी नियमावलीका नियम ११३ र १०९ बमोजिम सेवाबाट हटाउने कारबाही अघि बढाइने प्रधान कार्यालयले जनाएको छ।
सूचना जारी गरी सम्बन्धित कर्मचारीलाई आफ्नो गैरहाजिरीबारे स्पष्टीकरण तथा सफाइ पेस गर्ने अवसरसमेत दिइएको प्रहरीले जनाएको छ।
