काठमाडौं । इरानले अमेरिकासामु नयाँ प्रस्ताव अघि सार्दै आवश्यक सर्त पूरा भए एक साताभित्र होर्मुज स्ट्रेट पुनः खोल्न सकिने जनाएको छ ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले प्रस्तावमा उल्लेख गरिएका सर्त पूरा गरे होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया अघि बढाउन सकिने बताएका हुन् ।
तर, अराघचीले ती सर्तहरूको विस्तृत विवरण सार्वजनिक गरेनन् । उनका अनुसार आवश्यक सर्तहरू यसअघि अमेरिका र इरानबीच भएको समझदारीपत्र (एमओयू) मै समेटिएका छन् । इरानले आफ्नो नयाँ प्रस्ताव कतारमार्फत अमेरिकासमक्ष पठाएको उनले बताए ।
यससँगै अब प्रस्तावबारे निर्णय गर्ने जिम्मेवारी अमेरिकाको रहेको अराघचीले स्पष्ट पारेका छन् ।
यसअघि पनि इरानले अमेरिकी सैन्य दबाब कम गर्ने र इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने अवस्थामा एक साताभित्र होर्मुज स्ट्रेट खोल्न सकिने संकेत दिएको थियो
यता एक अमेरिकी अधिकारीले बीबीसीसँग कुरा गर्दै अमेरिका र इरानबीच मध्यस्थमार्फत सकारात्मक वार्ता भइरहेको बताएका छन् । वार्तामा इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषयसमेत समावेश रहेको बताइएको छ ।
इरानले सेप्टेम्बर १६ मै मध्यस्थमार्फत अमेरिकासमक्ष शत्रुता अन्त्य र वार्ता अघि बढाउने प्रस्ताव पठाएको थियो ।
अमेरिका र इरानबीच जुनमा भएको १४ बुँदे समझदारीमा सैन्य कारबाही अन्त्य गर्ने, होर्मुज स्ट्रेटबाट व्यावसायिक जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने तथा आगामी वार्तामार्फत आणविक कार्यक्रमलगायत विषयमा अन्तिम सम्झौता गर्ने प्रावधान समेटिएका थिए ।
समझदारीअनुसार अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउने प्रक्रिया अघि बढाउने र इरानले फारसको खाडीबाट ओमानको खाडीसम्म व्यावसायिक जहाजको सुरक्षित आवागमनका लागि व्यवस्था गर्ने उल्लेख थियो ।
एमओयूमा इरानले आणविक हतियार हासिल वा विकास नगर्ने प्रतिबद्धता, सैन्य गतिविधि अन्त्य गर्ने तथा प्रतिबन्ध हटाउने विषयमा थप वार्ता गर्ने व्यवस्था पनि समेटिएको थियो ।
अहिले इरानले सोही समझदारीका आधारमा अमेरिकाले आवश्यक कदम चाले सात दिनभित्र होर्मुज स्ट्रेट खोल्न सकिने प्रस्ताव अघि सारेको हो । होर्मुज स्ट्रेट विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक समुद्री मार्गमध्ये एक भएकाले यसको आवागमनमा आउने परिवर्तनले अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव पार्न सक्छ ।