काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशनहरू भइरहेका छन् ।
अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशनको मिति पछाडि धकेलिए पनि अधिकांश स्थानमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार अधिवेशन सञ्चालन भइरहेको हो ।
भारी वर्षाको पूर्वानुमानलाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन समितिले स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । समितिले विकल्प दिएपछि केही जिल्लाले आइतबार र सोमबार अधिवेशन गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरेका छन् ।
मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा शनिबार नै र बाँकी क्षेत्रमा सोमबारसम्म क्षेत्रीय अधिवेशन सम्पन्न हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताएका छन् ।
उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै उल्लेख्य अवरोध वा समस्या देखिएको छैन । त्यसैले अधिकांश स्थानमा सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको उनले बताए ।
संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन हुनेछन् ।
कांग्रेसले यसपटक जिल्ला अधिवेशन र प्रदेश अधिवेशन नगर्ने भएको छ । पार्टीको केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म आयोजना गर्ने कार्यतालिका छ ।