नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. र एनआईसी एशिया बैंकबीच होण्डाका ग्राहकलाई सहुलियतपूर्ण अटो लोन उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार होण्डाका नयाँ गाडी खरिद गर्न चाहने ग्राहकलाई एनआईसी एशिया बैंकले आकर्षक तथा कम ब्याजदरमा सहज फाइनान्सिङ अर्थात् सवारी कर्जा सुविधा उपलब्ध गराउनेछ । यस सहकार्यको मुख्य उद्देश्य ग्राहकलाई नयाँ होण्डा गाडी खरिद गर्न आर्थिक रूपमा सहज वातावरण सिर्जना गर्नु रहेको स्याकार ट्रेडिङले जनाएको छ।
कम्पनीका अनुसार कर्जाका लागि आवश्यक सम्पूर्ण कागजात बुझाएको अवस्थामा ६ कार्यदिनभित्रै कर्जा प्रक्रिया पूरा गर्ने प्रतिबद्धता बैंकले जनाएको छ । यसबाट होण्डाका गाडी खरिद गर्न इच्छुक ग्राहकले छिटो र सहज रूपमा सवारी कर्जा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ । यो फाइनान्सिङ सुविधा होण्डाका लोकप्रिय मोडलहरू होण्डा सीआर–भी, सिटी ईःएचईभी, फिफ्थ जेनेरेसन सिटी र एलिभेट लगायतका गाडी खरिदमा उपलब्ध हुनेछ।
सम्झौता पत्रमा एनआईसी एशिया बैंकका तर्फबाट चिफ बिजनेस अफिसर अमित केसी र हेड–मोट्र्गेज बैंकिङ एण्ड अटो लोन दीपक आचार्य तथा स्याकार ट्रेडिङ कम्पनी (होण्डा कार) का तर्फबाट प्रबन्ध निर्देशक सृजना शाक्य ज्योतिले हस्ताक्षर गरेका छन्।
दुवै संस्थाले उक्त सम्झौताले ग्राहकलाई नयाँ होण्डा कार खरिद गर्ने प्रक्रियालाई थप सरल, सहज र छिटो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, सहुलियतपूर्ण अटो लोन सुविधाले होण्डाका विभिन्न मोडल खरिद गर्न चाहने ग्राहकको वित्तीय पहुँचलाई सहज बनाउने अपेक्षा गरिएको छ।