मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

निप्पोन फर्मास्युटिकलले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

शुक्रबार, असोज ९ २०८३

विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नियमनकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि प्रचलित धितोपत्रसम्बन्धी कानुनी व्यवस्था र निर्देशिकाबमोजिम आईपीओ निष्कासन गर्ने जनाएको हो।

आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा निप्पोन फर्मास्युटिकलका तर्फबाट प्रबन्ध निर्देशक मन्टु घिमिरे र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

कोशी प्रदेशको मोरङ जिल्ला, विराटनगर महानगरपालिका–१२, बखरीमा अवस्थित निप्पोन फर्मास्युटिकल विभिन्न प्रकारका औषधी उत्पादन गर्ने फर्मास्युटिकल कम्पनी हो । कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार ट्याबलेट, क्याप्सुल, तरल औषधी, मलम, क्रीम, जेल, ओआरएस, ड्राइ सिरप तथा पेनिसिलिनलगायतका औषधी उत्पादन गर्दै आएको जनाएको छ।

कम्पनीको विधिवत् दर्ता सन् २००६ मा भएको थियो भने उद्योग स्थापना सन् २०१७ मा गरिएको थियो । स्थापना भएको पाँच वर्षपछि अर्थात् सन् २०२२ देखि व्यावसायिक उत्पादन तथा बजारीकरण सुरु गरेको कम्पनीले चार वर्षको अवधिमा विभिन्न थेराप्युटिक सेगमेन्टका ६० भन्दा बढी उत्पादन बजारमा ल्याइसकेको जनाएको छ।

‘सबैका लागि सु–स्वास्थ्य’ भन्ने मूल नाराका साथ अघि बढिरहेको निप्पोन फर्मास्युटिकलले नेपाली औषधी बजारको आवश्यकता सम्बोधन गर्दै आएको दाबी गरेको छ । स्वदेशमै आवश्यक पर्ने अधिकांश औषधीको उत्पादन बढाएर औषधीमा आत्मनिर्भरता हासिल गर्न योगदान पुर्‍याउने र राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीलाई सहयोग गर्ने उद्देश्य कम्पनीले लिएको जनाएको छ।

आईपीओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढिरहेको र नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएपछि सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।