मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पोखरा विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पर्यटन व्यवसायी उत्साहित

बुधबार, असोज ७ २०८३

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।

विसं २०७९ पुस १७ गते सञ्चालनमा आएपछि विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईले नियमित उडान सुरु गर्न लागेपछि पोखराका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी र पूर्वाधार व्यवस्थापनको काम पूरा भएको छ। फ्लाई दुबईको विमान आज साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि उडान भर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गर्ने तयारी गरिएको छ।

अध्यागमन, भन्सार, कार्गोलगायतका सबै सेवा सञ्चालनका लागि विमानस्थल तयारी अवस्थामा रहेको निरौलाले बताए। विमानस्थल सञ्चालनमा आएपछि केही वायुसेवा कम्पनीले अन्तरराष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन नसकेको भन्दै उनले फ्लाई दुबईको नियमित उडान सुरु हुन लागेकोमा उत्साह व्यक्त गरे।

फ्लाई दुबईबाट पोखरा आउने तथा पोखराबाट दुबई जाने यात्रु र पर्यटकलाई पोखराका पर्यटन व्यवसायीले खादा र मालासहित स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।

पोखरा विमानस्थल भन्सार कार्यालयका प्रमुख हरि भण्डारीले यात्रु जाँचपास, राजस्व सङ्कलन तथा निकासी–पैठारीलगायतका कामका लागि आवश्यक तयारी पूरा भएको बताए।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले दुबई विश्वकै प्रमुख हवाई ट्रान्जिट हब भएकाले पोखरा–दुबई नियमित उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने बताए। फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा उडान गर्ने भएकाले पोखराबाट हुने उडान दीर्घकालीन हुने अपेक्षा गरिएको उनको भनाइ छ।

रोजगारी तथा अध्ययनका लागि नेपाली युवा दुबई जाने क्रम बढिरहेकाले पोखराबाटै नियमित उडान हुँदा उनीहरूलाई समेत सहज हुने श्रेष्ठले बताए।

यसैबीच, अन्तरराष्ट्रिय उडानका क्रममा आवश्यक सुरक्षा व्यवस्थाबारे जिल्ला सुरक्षा समितिले विमानस्थलको निरीक्षण गरेको छ। प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विमानस्थलमा आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिए।