काठमाडौँ । पुनर्गठन र पुनर्निर्माणको बहसमा केन्द्रित नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको बैठक आज पनि बस्दैछ।
बिहान ९ बजेबाट सुरु हुने बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्ने क्रम जारी रहनेछ।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार मंगलबारसम्म ११८ जना केन्द्रीय सदस्यले प्रतिवेदनमाथि धारणा राखिसकेका छन्। आज बाँकी सदस्यहरूले आफ्ना धारणा राख्नेछन्। केन्द्रीय सदस्यलाई धारणा राख्न तीन मिनेटको समय दिइएको छ।
आचार्यका अनुसार आज सबै केन्द्रीय सदस्यले धारणा राखिसकेपछि बिहीबार पार्टी सचिवालयको बैठक बस्ने तयारी छ। सचिवालय बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने र ती निर्णय अनुमोदनका लागि पुनः केन्द्रीय कमिटीमा प्रस्तुत गरिनेछ।