काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
आगलागीमा मृत्यु भएका व्यक्तिको साथबाट भेटिएको चालक अनुमतिपत्र (लाइसेन्स)का आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेको थियो । तर, दावा लामा नाम गरेका एक व्यक्ति आफू सकुशल रहेको बताएपछि मृतकको पहिचान अन्योलमा परेको हो ।
घटनापछि प्रहरीले मृतकको साथबाट भेटिएको लाइसेन्सको विवरण तथा त्यसको सम्भावित दुरुपयोगबारे समेत अनुसन्धान थालेको छ । आफूलाई दावा लामा बताउने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बोलाएर सोधपुछ गरिरहेको एक प्रहरी अधिकृतले जानकारी दिए ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार मृतकका आफन्तसमेत अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
“मृतकका आफन्तहरू पनि सम्पर्कमा आउनुभएको छैन । हिजो सम्पर्कमा आउनुभएका व्यक्तिहरू पनि आज सम्पर्कविहीन हुनुहुन्छ । हामी निरन्तर अध्ययनमा छौँ, आज दिनभरमा पहिचान पत्ता लगाउने छौँ,” सुवेदीले भने ।
सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागी हुनुअघि बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ । विवाद भएको केही समयपछि बसको पछिल्लो भागबाट आगो सल्किएको थियो ।
आगलागीमा गम्भीर घाइते भएका चालकको सोमबार साँझ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको पहिचानसँगै बसमा आगलागी भएको घटनाको कारण र प्रयोग भएको लाइसेन्सको वास्तविकताबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ । बससँग सम्बन्धित व्यक्तिहरूको खोजीसमेत भइरहेको प्रहरीले जनाएको छ ।