काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ। कारोबार प्रणालीसँग सम्बन्धित ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि नेप्सेले कारोबार स्थगित गरेको हो।
नेप्सेले सोमबार जारी गरेको सूचनाअनुसार डाटा हब प्रालिको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधानका लागि प्रयास भइरहे पनि हालसम्म समाधान हुन सकेको छैन।
डाटा सेन्टरको प्राविधिक समस्या यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएपछि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।
यसअघि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि आजको नियमित कारोबार सत्र स्थगित गर्न नेप्सेसमक्ष निवेदन दिएको थियो।
सोही आधारमा नेपाल स्टक एक्सचेन्जले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम असोज ५ गतेको नियमित कारोबार स्थगित गर्ने निर्णय गरेको हो।
नेप्सेले प्राविधिक समस्या समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा प्रणालीमा थप क्षति पुग्न सक्ने सम्भावनालाई ध्यानमा राखेर कारोबार स्थगित गरिएको स्पष्ट पारेको छ।