बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

आरोग्यका लागि दौड, समाजका लागि योगदान 

दुई हजारभन्दा बढीको सहभागितामा दौड सम्पन्न

आइतबार, असोज ४ २०८३

जीवन विज्ञान यूथको आयोजनामा “आरोग्यका लागि दौड, समाजका लागि योगदान” भन्ने मूल भावका साथ आयोजित ५ किलोमिटर र १० किलोमिटर दौड कार्यक्रम दुई हजारभन्दा बढीको सहभागितामा शनिबार सम्पन्न भएको छ।

दशरथ रंगशालाबाट सुरु भएको दौडमा १० वर्षदेखि ७० वर्षसम्मका सहभागी सहभागी भएका थिए। २० देखि ३० वर्ष उमेर समूहका सहभागीको संख्या उल्लेख्य रहेको थियो । संविधान दिवसको अवसर पारेर आरोग्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै रसुवा बाढीपीडित क्षेत्रका विद्यालय तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले दौड आयोजना गरिएको हो । १० किलोमिटर दौड दशरथ रंगशालाबाट सुरु भई थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर हुँदै पुनः तीनकुने, बानेश्वर, माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामा पुगेर सम्पन्न भएको थियो।

त्यस्तै, ५ किलोमिटर दौड दशरथ रंगशालाबाट थापाथली, माइतीघर मण्डला हुँदै बिजुलीबजारको आर्क ब्रिजसम्म पुगेर माइतीघर मण्डला, भद्रकाली र सुन्धारा हुँदै दशरथ रंगशालामै पुगेर सम्पन्न भएको थियो । कार्यक्रमको उद्घाटनका क्रममा गुरुदेव रमेश नेपालले सहभागीहरूलाई ध्यान गराए । उनले दौडसँगै शरीर, मन र चेतनालाई सन्तुलित राख्ने अभ्यासको महत्त्वमा जोड दिएका थिए।

समापन कार्यक्रममा गुरुदेव एल पि भानु शर्माले सहभागीहरूलाई धन्यवाद दिँदै नेपालले अब आरोग्यको नेतृत्व गर्नुपर्ने बताए । उनले दौड स्वास्थ्यका लागि मात्र नभई सेवासँग जोडिएको अभियान भएको उल्लेख गर्दै सबैलाई सेवामा समर्पित हुन आग्रह गरे । “सेवासँग जोडिएर विश्वलाई आरोग्य र सेवाको सन्देश दिन सबैले सहकार्य गर्नुपर्छ” भन्नेमा जोड दिँदै उनले बाढीपीडित क्षेत्रमा पुगेर सेवा गर्नसमेत सबैलाई आह्वान गरे।

दौडमा किलोमिटरको पुरुषतर्फ रविन्द्र राउत प्रथम, सुकदेव कुलुङ द्वितीय, निश्चल राई तृतीय भए । ५ किलोमिटरको महिलातर्फ जेनिशा राई प्रथम,  सुजिना बम, द्वितीय तथा योनिका राउत तृतीय भईन  ।  त्यस्तै १० किलोमिटरको पुरुषतर्फ दीपक बुढाथोकी प्रथम, रिंकु सिंजाली द्वितीय र सार्थक के.सी. तृतीय भए । यस्तै १० किलोमिटर महिलातर्फ शारदा राई प्रथम, प्रिया शाह द्वितीय  र स्मृति ढकाल तृतीय भए ।

विजेता खेलाडीहरूलाई श्रद्धेय भानु गुरुदेव र जीवन विज्ञानकी अध्यक्ष देवी शर्माले पुरस्कार वितरण गरेका थिए । स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै अभियानमा जोडिएको यस दौडले “स्वास्थ्यका लागि दौड, समाजका लागि योगदान” भन्ने सन्देशलाई प्रवाह गरेको छ । कार्यक्रमले युवादेखि ज्येष्ठ पुस्तासम्मलाई स्वस्थ जीवनशैली र सेवाभावमा जोडिन प्रेरित गरेको छ।