काठमाडौँ । रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले कृषि क्षेत्रमा ठूलो क्षति पुगेको देखाएको हो ।
बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित हुँदा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ ।
त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । यसबाट करिब एक हजार ८४३ टन तरकारी उत्पादनमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
धान खेतीतर्फ नुवाकोटको विदुर, लिखु र बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक र गल्छी तथा गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन् ।
नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने क्षेत्र प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ । लिखुमा २३० हेक्टर क्षेत्र प्रभावित हुँदा ८०५ टन र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धान उत्पादनमा क्षति पुगेको छ ।
धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ । रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ ।
तरकारी खेतीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन उत्पादनमा क्षति पुगेको छ । त्यस्तै, धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ ।
बाढीबाट पशुपन्छी क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । प्रतिवेदनअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । पशुपन्छीको क्षतिको अनुमानित मूल्य रु एक अर्ब ११ करोड ३९ लाख रहेको छ ।
प्रभावित पशुपन्छीमध्ये कुखुराको सङ्ख्या सबैभन्दा धेरै छ । बाढीबाट दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन् । यो कुल प्रभावित पशुपन्छीको ८५.१ प्रतिशत हो । यद्यपि, कुखुराको मूल्यगत हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै रहेको छ ।
बाढीबाट चार हजार ५७२ भैँसी प्रभावित भएका छन् । भैँसीतर्फ मात्रै रु ४५ करोड ७२ लाख बराबरको क्षति भएको अनुमान छ, जुन कुल पशुपन्छी क्षतिको ४१ प्रतिशत हो ।
त्यस्तै, बाख्रा तथा च्याङ्ग्रातर्फ रु ३९ करोड १३ लाख अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुतर्फ रु १७ करोड ९२ लाख अर्थात् १६.१ प्रतिशत क्षति भएको छ ।
प्रतिवेदनअनुसार अन्य पशुतर्फ रु एक करोड चार लाख, बङ्गुर तथा बँदेलतर्फ रु एक करोड ९६ लाख, भेडातर्फ रु २५ लाख, कुखुरातर्फ रु पाँच करोड ३७ लाख तथा अन्य चरातर्फ करिब रु एक लाख बराबरको क्षति भएको छ ।
कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरुको क्षति मात्रै ९२.३ प्रतिशत रहेको छ । यसले बाढीबाट कृषकको आम्दानीसँगै ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको पशुपालन क्षेत्रमा समेत गम्भीर असर परेको देखाएको छ ।