बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल

सोमबार, भाद्र २९ २०८३

काठमाडौँ  । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ बजेबाट सुरु भएको छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिना र अच्युतम लामिछानेसहित नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित १५ स्थानीय तहका प्रमुख सहभागी छन् ।

छलफलमा बाढीपछि प्रभावित क्षेत्रमा देखिएको अवस्था, तत्कालीन समस्या, चाल्नुपर्ने आवश्यक कदम तथा पुनरुत्थानका विषयमा केन्द्रित भएर छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

छलफलमा नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी सहभागी छन् ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन् । गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भने अनलाइनमार्फत छलफलमा जोडिएका छन् ।

धादिङका गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) पनि छलफलमा उपस्थित छन् ।

तनहुँका देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना पनि छलफलमा सहभागी छन् ।