मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

नेप्सेमा सूचीकृत भएको दुई महिनामै सर्वोत्तम पेन्ट्सले दियो लाभांशको ‘सरप्राइज’

सोमबार, भाद्र २९ २०८३

काठमाडौँ । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चितिबाट शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २०८३ साउन २८ गते सूचीकृत भएको कम्पनीले छोटो समयमै लाभांश प्रस्ताव गरेको हो।

गुणस्तरीय पेन्ट्स उत्पादन तथा उत्कृष्ट सेवा प्रदान गर्दै आएको कम्पनीले गुणस्तरको मापक मानिने नेपाल गुणस्तर प्रमाण चिह्नसमेत प्राप्त गरिसकेको जनाएको छ। कम्पनीले २०७२ सालदेखि सुदूरपश्चिम प्रदेशको कैलालीस्थित अत्तरियाबाट पेन्ट्स उत्पादन सुरु गरेको हो।

हाल सर्वोत्तम पेन्ट्सले सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा बलियो बजार उपस्थिति बनाउँदै देशभर व्यापार सञ्जाल विस्तार गरिरहेको जनाएको छ।

विस्तारित बजारमा उत्पादनको आपूर्ति सहज बनाउन कम्पनीले हेटौँडा औद्योगिक क्षेत्रभित्र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना गरेको छ। उक्त उद्योग हाल उत्पादन सुरु गर्ने अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

नेप्सेमा सूचीकृत भएको छोटो समयमै शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश प्रस्ताव गरेको कम्पनीले आगामी दिनमा पनि उत्पादनको गुणस्तरलाई प्राथमिकता दिँदै देशभर व्यापार सञ्जाल विस्तार गर्ने जनाएको छ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिव शिंह कार्कीले बजार विस्तारसँगै कम्पनीको मुनाफा वृद्धि गर्ने लक्ष्य रहेको बताए।

हाल कम्पनीको सञ्चालक समितिको अध्यक्षमा बैंकिङ क्षेत्रको पृष्ठभूमिका शिव शिंह कार्की छन्। आभूषण व्यवसायको पृष्ठभूमिका लक्ष्मी दत्त पाण्डेय सञ्चालक छन् भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेन्ट कम्पनीमा बिक्री तथा व्यवस्थापनको अनुभव संगालेका नवीनप्रसाद भट्ट प्रबन्ध निर्देशक छन्।