मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी बढेको हो। भन्सार कार्यालयका प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट हुने आयात निरन्तर बढिरहेको छ।
शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले रु २७ करोड ११ लाख राजस्व सङ्कलन गरेको छ। भदौ २२ गतेपछि दैनिक औसतमा रु ३० करोड हाराहारी राजस्व सङ्कलन भइरहेको प्रमुख चुडालले जानकारी दिए।
शुक्रबार मात्रै कोरलानाकाबाट आएका ७१ कन्टेनर र १०६ विद्युतीय सवारीसाधन (इभी) को भन्सार जाँचपास भएको छ।
रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको प्रमुख चुडालले बताए।
चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको जाँचपासबाट रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व सङ्कलन भइसकेको छ। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए।
उपल्लो मुस्ताङका स्थानीय बासिन्दाका लागि बाह्रै महिना खुला हुँदै आएको कोरलानाका तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि गत वर्षदेखि वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा प्रयोग हुन थालेको हो।
नेपाल सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा खुला गरेको थियो।
भन्सार प्रमुख चुडालका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार कार्यालयले रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो।
गत आर्थिक वर्षमा कोरलानाकाबाट पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाखबराबरको कारोबार भएको थियो। सो अवधिमा कोरलानाका हुँदै तीन हजार २२३ विद्युतीय सवारीसाधन र एक हजार ८७३ कन्टेनरको भन्सार जाँचपास गरिएको थियो।