शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

बिहिबार, भाद्र २५ २०८३

नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवद्र्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र चर्चित मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

नेपाल टेलिकमले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी भुर्तेल र शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । कम्पनीले गत २०८३ साउन २० गते क्रिकेट खेलाडी कुशल भुर्तेललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको थियो भने २०८३ भदौ २५ गते मोडल तथा नायिका नीति शाहलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो।

ब्रान्ड एम्बेसडर नियुक्तिसम्बन्धी कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले खेलकुद तथा मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको आबद्धताले युवा पुस्तालगायत आम नागरिकसँग कम्पनीको सम्बन्ध थप सुदृढ र प्रगाढ हुने विश्वास व्यक्त गरिन् । उनले नयाँ साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्नुका साथै व्यवसाय प्रवद्र्धन र नेपाल टेलिकमका विभिन्न सेवासुविधाको प्रचारप्रसारमा नयाँ ऊर्जा थप्ने अपेक्षा व्यक्त गरिन् । नवनियुक्त ब्रान्ड एम्बेसडरद्वय भुर्तेल र शाहले देशकै ठूलो तथा स्वदेशी लगानीमा सञ्चालित दूरसञ्चार संस्थासँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको बताए।

उनीहरूले ब्रान्ड एम्बेसडरका रूपमा आबद्ध गराएकोमा नेपाल टेलिकमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा कम्पनीको सामाजिक छवि संरक्षण, सेवासुविधाको प्रवद्र्धन तथा बजारीकरणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल टेलिकमका अनुसार ब्रान्ड एम्बेसडरद्वयले स्वदेश तथा विदेशमा रहेका आम ग्राहकसमक्ष कम्पनीले प्रदान गर्दै आएका विभिन्न सेवा तथा सुविधाको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्नेछन् । साथै, उनीहरूले कम्पनीको ब्रान्ड प्रवद्र्धनसम्बन्धी विभिन्न गतिविधिमा समेत सहभागिता जनाउनेछन्।