हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा. लि. र श्रीराम टोबाकोले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड ५१ लाख ५१ हजार आर्थिक सहयोग प्रदान गरेका छन्।
उक्त सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
यसअघि पनि कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङलगायतका अति प्रभावित स्थानहरूमा प्रत्यक्ष राहत सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। प्रभावित नागरिकहरूलाई राखिएका विभिन्न आश्रयस्थल तथा राहत केन्द्रहरूमा अत्यावश्यक खाद्य सामग्रीका रूपमा कम्पनीले रु. ३० लाख बराबरको ‘करेन्ट चाउचाउ’ उपलब्ध गराएको थियो। उक्त राहत सामग्री सम्बन्धित निकाय तथा प्रभावित नागरिकहरूमार्फत प्रत्यक्ष रूपमा वितरण गरिएको कम्पनीले जनाएको छ।
बाढीका कारण विस्थापित तथा प्रभावित नागरिकको आवश्यकता अझै कायम रहेकाले आगामी दिनमा पनि आवश्यकताअनुसार थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको जनाएको छ।