माछापुच्छ्रे क्यापिटल लिमिटेडको सातौँ वार्षिक साधारण सभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको सभापतित्वमा कम्पनीले बार्षिक सभा सम्पन्न गरेको हो।
सभामा प्रमुख अतिथिका रूपमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाको उपस्थिति रहेको थियो । सम्बोधनका क्रममा कोइरालाले माछापुच्छ्रे क्यापिटलको निरन्तर प्रगति र सफलताको शुभकामना दिँदै आगामी दिनमा कम्पनीले थप उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य दिँदै गत आर्थिक वर्षमा कम्पनीले हासिल गरेका प्रमुख उपलब्धि, सामना गर्नुपरेका चुनौती तथा आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाले स्वीकृत गरेको छ । सभाले कम्पनीको चुक्ता पुँजीको ७ प्रतिशतका दरले करसहित रु. २ करोड ४३ हजार ७ सय ६५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। यससँगै कम्पनीका शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने बाटो खुलेको छ।
सभाको समापन गर्दै अध्यक्ष विश्वम्भर न्यौपानेले कम्पनीप्रति विश्वास र निरन्तर साथ दिँदै आएका शेयरधनी, प्रमुख अतिथि, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, साझेदार संस्था, कर्मचारी तथा माछापुच्छ्रे बैंक लिमिटेडप्रति आभार व्यक्त गरे । उनले सबै सरोकारवालाको निरन्तर मार्गदर्शन, विश्वास र सहकार्यबाट कम्पनी आगामी दिनमा अझ सुदृढ, सक्षम र प्रतिस्पर्धी संस्थाका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।