चितवन । कृष्णभीरमा पहिरोका कारण एलपी ग्यास बोकेका बुलेट काठमाडौं जान नसकेपछि विभिन्न जिल्लाका ग्यास उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौं पठाइएको छ।
काठमाडौं उपत्यकामा ग्यासको अभाव हुन नदिन चितवनसहित विभिन्न जिल्लामा रहेका उद्योगबाट सिलिन्डर भरेर बुधबार उपत्यका पठाइएको नेपाल एलपी ग्यास उद्योग संघका केन्द्रीय सदस्य विमल कालाखेतीले जानकारी दिए।
चितवनस्थित नेपाल ग्यास उद्योग, नारायणीबाट मात्रै विभिन्न कम्पनीका ४ हजार ५४३ सिलिन्डर पठाइएको छ। तीमध्ये एचपीका १ हजार २१३, नेपाल ग्यासका १ हजार ६७८, गीताका १४० र सागरका १ हजार ५१२ सिलिन्डर छन्।
यस्तै, धनुषास्थित नोबेल ग्यास उद्योगबाट सागर उद्योगका ५ हजार ६१८ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ।
बाराका विभिन्न उद्योगबाट पनि ठूलो परिमाणमा ग्यास पठाइएको छ। ग्यास वन (एनएल) उद्योगबाट सीताश्रीका १ हजार ६०९, जगदम्बा ग्यास उद्योगबाट मेट्रो एसटिसी र सूर्यका २ हजार १२१, लियो ग्यास उद्योगबाट उग्रचण्डी र श्रीमायाका ३ हजार १८१ तथा अम्बर ग्यास उद्योगबाट सिद्धार्थ र मेट्रो एसटिसीका १ हजार ९२ सिलिन्डर काठमाडौं पठाइएको छ।
पर्सास्थित सुपर ग्यास उद्योगबाट हिमाल कम्पनीका ६६३ र मनोज ग्यास उद्योगबाट उग्रचण्डी तथा मेट्रो एसटिसीका १ हजार ३७ सिलिन्डर पठाइएको कालाखेतीले बताए।
त्यस्तै, मकवानपुरको सहारा ग्यास उद्योगबाट एभरेष्ट र सुगमका ७ हजार ८७७ सिलिन्डर तथा चितवनको नेपाल ग्यास उद्योग गण्डकीबाट एपी, नेपाल र गीता उद्योगका ७ हजार ३४८ सिलिन्डर उपत्यका पठाइएको छ।
चितवनकै साइबाबा ग्यास उद्योगबाट श्रीकृष्ण र साइबाबाका ५ हजार ३३७ सिलिन्डर तथा बाबा ग्यास उद्योगबाट श्री ग्यासका ८ हजार ७१६ सिलिन्डर काठमाडौं पठाइएको छ।
यसैगरी, नवलपुरस्थित जानकी ग्यास उद्योगबाट श्रीराम र ओम उद्योगका २ हजार ६४२ सिलिन्डर तथा नवलपरासीस्थित चण्डेश्वरी ग्यास उद्योगबाट सागर उद्योगका १ हजार ६८५ सिलिन्डर भरेर काठमाडौं पठाइएको छ।
कृष्णभीरमा पहिरोका कारण ग्यासका बुलेट आवतजावतमा समस्या भएपछि उपत्यकामा सम्भावित ग्यास अभाव टार्न विभिन्न जिल्लाका उद्योगबाट सिलिन्डर भरेर काठमाडौं पठाउन थालिएको हो।