काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।
मुक्तिनाथ विकास बैंकले भदौ १९ गते यी दुवै संस्थालाई प्राप्ति गर्ने गरी प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
प्राप्ति प्रक्रियाका लागि आवश्यक नियामकीय प्रक्रिया अघि बढाउने क्रममा मुक्तिनाथ विकास बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) लाई पत्र पठाउँदै आधारभूत सेयरधनीहरूको सेयर कारोबार रोक्का गरिदिन अनुरोध गरेको छ।
नेपाल धितोपत्र बोर्डबाट जारी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम आधारभूत सेयरधनीको सेयर कारोबार रोक्का गर्न अनुरोध गरिएको बैंकले जनाएको छ।
प्रारम्भिक सम्झौताअनुसार प्रस्तावित प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन तथा मूल्यांकन गरिनेछ। साथै, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, सेयर आदान–प्रदानसम्बन्धी व्यवस्था तथा अन्य आवश्यक प्रक्रिया अघि बढाइनेछ।
प्रस्तावित प्राप्ति प्रक्रिया नेपाल राष्ट्र बैंक तथा प्रचलित कानुनबमोजिम आवश्यक स्वीकृति र नियामकीय प्रक्रिया पूरा भएपछि मात्र कार्यान्वयनमा आउनेछ।