जकार्ता । इन्डोनेसियाको माउन्ट अनक क्राकाटाउ ज्वालामुखी विस्फोट भई वायुमण्डलमा खरानी फैलिएपछि राजधानी जकार्तास्थित सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलसहित चारवटा प्रमुख विमानस्थल आइतबार अस्थायी रूपमा बन्द गरिएका छन्।
इन्डोनेसियाको परिवहन मन्त्रालयका अनुसार ज्वालामुखीको गतिविधि बढेसँगै विमानस्थल आसपासको क्षेत्रमा खरानीको प्रभाव देखिएपछि उड्डयन सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा स्थगित गरिएको हो।
नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाका अनुसार प्राकृतिक अवरोधका कारण देशको प्रमुख विमानस्थलबाट सञ्चालन हुने अन्तर्राष्ट्रिय तथा आन्तरिक दुवै उडान प्रभावित भएका छन्।
मन्त्रालयका अनुसार हालसम्म १६ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् भने सातवटा उडान ढिला भएका छन्। त्यस्तै, पाँचवटा उडानको समय तालिका परिवर्तन गरिएको छ। उडान प्रभावित हुने गन्तव्यमा सिंगापुर, हङकङ, सिड्नी, सोल, दोहा, एम्स्टर्डम र क्वालालम्पुरलगायत रहेका छन्।
आन्तरिकतर्फ लाम्पुङ, देनपासार र सुराबायाका चार उडान रद्द भएका छन् भने एउटा उडानलाई अन्यत्र डाइभर्ट गरिएको छ।
सोकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त जकार्ताको हालिम पेर्डानाकुसुमा, ताङ्गेराङको बुडियार्टो र लाम्पुङको राडिन इन्टेन–२ विमानस्थल पनि अस्थायी रूपमा बन्द गरिएका छन्।
विमानस्थलहरू आकस्मिक रूपमा बन्द हुँदा करिब २३ हजार यात्रु प्रभावित भएको मन्त्रालयले जनाएको छ। यद्यपि, विमानस्थलको पार्किङ क्षेत्रमा रहेका १७० वटा विमान भने सुरक्षित रहेको महानिर्देशक लुकमानले पुष्टि गरेका छन्।
हाल उड्डयन अधिकारीहरूले ज्वालामुखीको गतिविधि तथा वायुमण्डलमा फैलिएको खरानीको घनत्वबारे निरन्तर अनुगमन गरिरहेका छन्। मौसम विज्ञान विभाग, विमानस्थल सञ्चालक र हवाई नेभिगेसन सेवा प्रदायकसँगको समन्वयमा अवस्थाको मूल्याङ्कन भइरहेको छ।
स्थिति अनुकूल भएपछि उडान सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको इन्डोनेसियाको परिवहन मन्त्रालयले जनाएको छ।