चितवन । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास (एलपीजी) को सम्भावित अभाव हुन नदिन ग्यास उद्योगीहरूले वैकल्पिक आपूर्ति व्यवस्था सुरु गरेका छन्।
नेपाल आयल निगमले उपत्यकाबाहिर रहेका उद्योगबाट सिलिन्डर भरेर काठमाडौँ ल्याउन अनुमति दिएपछि उद्योगीहरूले विभिन्न स्थानमा रहेका प्लान्टबाट ग्यास भरेर उपत्यका पठाउन थालेका हुन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका पदाधिकारीहरूले ग्यास ढुवानी सहज बनाउन मकवानपुरका ट्रक व्यवसायीसँग समेत छलफल गरिरहेका छन्। सङ्घका पूर्वअध्यक्ष गोकुल भण्डारीका अनुसार उपत्यकाबाहिरका उद्योगमा खाली सिलिन्डर पर्याप्त नभएकाले काठमाडौँबाटै खाली सिलिन्डर ट्रकमार्फत बाहिर पठाएर ग्यास भरेपछि पुनः उपत्यका ल्याउने व्यवस्था मिलाइएको छ।
नेपाल ग्यासले चितवनस्थित नेपाल ग्यास गण्डकीको प्लान्टमा आफ्ना सिलिन्डर भरेर काठमाडौँ पठाउँदै आएको छ। सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ११ हजार सिलिन्डर बिक्री गर्दै आएको उक्त उद्योगले केही दिनभित्रै दैनिक ८ देखि १० हजार सिलिन्डर काठमाडौँ ल्याउने तयारी गरेको जनाएको छ।
तर, रातिको समयमा कान्ति लोकपथमा सवारीसाधन सञ्चालनमा रोक लाग्ने भएकाले खाली सिलिन्डर बोकेका ट्रकको आवतजावतमा केही ढिलाइ भइरहेको सङ्घका सदस्य विमल कालाखेतीले बताउनुभयो।
हाल विभिन्न ग्यास कम्पनीले परासी, हेटौँडा र गैँडाकोटलगायतका स्थानमा रहेका प्लान्टबाट ग्यास भरेर त्रिभुवन राजपथ हुँदै काठमाडौँ पठाउन थालेका छन्। उपत्यका र आसपासका क्षेत्रमा हाल १६ वटा ग्यास उद्योग सञ्चालनमा रहेका छन्।
सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अवस्थामा काठमाडौँमा दैनिक करिब ४० हजार सिलिन्डर एलपी ग्यास खपत हुने गरेको छ।
मुख्य राजमार्गमा देखिएको अवरोधका कारण आपूर्ति प्रभावित हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उद्योगीहरूले वैकल्पिक मार्ग र आपूर्ति व्यवस्थामार्फत उपत्यकामा ग्यासको अभाव हुन नदिने प्रयास गरिरहेका छन्।