शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

 इरानमाथि जुनसुकै बेला थप सैन्य आक्रमण गर्न तयार छौँ : ट्रम्प

शुक्रबार, भाद्र १९ २०८३

काठमाडौं  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका इरानमाथि जुनसुकै बेला थप सैन्य आक्रमण गर्न तयार रहेको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिकी सेना उच्च सतर्कतामा रहेको र आवश्यक परे थप सैन्य कारबाही अघि बढाउन सक्षम रहेको बताएका हुन्।

‘गएराति निकै ठूलो आक्रमण गरिएको थियो र हामी जुनसुकै बेला अर्को आक्रमण गर्न तयार छौँ,’ ट्रम्पले भने, ‘हर्मोज स्ट्रेट नजिकै इरानले निर्माण गर्न खोजेका सबै नयाँ सैन्य उपकरण हामीले नष्ट गरिदिएका छौँ।’

यसैबीच, इरानी अधिकारीहरूले मंगलबार राति दक्षिणी इरानमा भएको अमेरिकी हवाई आक्रमण एउटा वैवाहिक समारोहमा परेको दाबी गरेका छन्। इरानका अनुसार उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौँ व्यक्ति घाइते भएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। कमाण्डले अमेरिकी सेनाले सर्वसाधारणलाई कहिल्यै निशाना नबनाउने दाबीसमेत गरेको छ।

रणनीतिक रूपमा महत्वपूर्ण जलमार्ग हर्मोज स्ट्रेटको नाम परिवर्तन गरेर आफ्नै नामबाट ‘ट्रम्प स्ट्रेट’ राख्ने विषयमा सोधिएको प्रश्नमा भने ट्रम्पले त्यसलाई अस्वीकार गरेका छन्।

‘होइन, होइन… त्यो कुरा त्यसै आएको मात्र हो,’ उनले पत्रकारसँग भने।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा पोस्ट गर्दै हर्मोज स्ट्रेट अमेरिकाको नियन्त्रणमा रहेको दाबी गरेका थिए। उनले ‘के हामीले हर्मोज स्ट्रेटको नाम परिवर्तन गरेर ट्रम्प स्ट्रेट राख्नुपर्छ ?’ भन्दै प्रश्न गरेका थिए।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले गत महिना लङ आइल्याण्डमा आयोजित एक ¥यालीमा समेत हर्मोज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने अभिव्यक्ति दिएका थिए।

यसअघि क्यानाडासँगको भन्सार विवादका बीच ट्रम्पले ‘लेक अन्टारियो’को नाम परिवर्तन गरी ‘लेक अमेरिका’ राख्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।

-एजेन्सी