मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बाढीपीडितको राहतका लागि जस्मिन पेन्ट्सद्वारा २५ लाख सहयोग

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले ज्यास्मिन पेन्ट्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत उक्त रकम सहयोग गरेको जनाएको छ। पछिल्लो समय रसुवालगायत क्षेत्रमा आएको प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो।

अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा ज्यास्मिन पेन्ट्सका प्रबन्ध निर्देशक (एमडी) लक्ष्मण अर्याल र प्रमुख सञ्चालन अधिकृत (सीओओ) सौगात अर्यालले संयुक्त रूपमा उक्त रकमको चेक नेपाल सरकारका सहसचिव तथा नेपाल धितोपत्र बोर्ड (सेबोन) का निमित्त अध्यक्ष उत्तरकुमार खत्रीलाई हस्तान्तरण गरेका हुन्।

ज्यास्मिन पेन्ट्सले विगत ३२ वर्षदेखि नेपाली समाजप्रतिको जिम्मेवारीलाई आत्मसाथ गर्दै आएको जनाएको छ। प्राकृतिक विपद् तथा अन्य सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि कम्पनीले निरन्तर सहयोग गर्दै आएको बताएको छ।

कम्पनीले विपद्का कारण पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाएको छ। ‘कसैको पीडामा मलम बन्न सक्नु, कसैको कठिन समयमा साथ दिन सक्नु—यही नै समाजप्रतिको साँचो जिम्मेवारी हो,’ कम्पनीले जनाएको छ।

ज्यास्मिन पेन्ट्सले आफूले रंगका उत्पादनमार्फत मात्र नभई नेपाली समाजमा साथ र विश्वास पनि बाँड्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।