काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवनलगायत जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको हो।
एमएडब्लू ग्रुपका अनुसार बाढीका कारण धेरै परिवारले घर, जीविकोपार्जनका साधन तथा आफ्ना प्रियजन गुमाएका छन्। विपद्को यस्तो कठिन अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरिएको हो।
एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्को कठिन समयमा कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए।
‘यस्ता कठिन परिस्थितिमा कम्पनीले सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिने र आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रयास गर्दै आएको छ,’ उनले भने।
अध्यक्ष अग्रवालले बाढीका कारण प्रियजन गुमाएका परिवारको पीडा कुनै पनि सहयोगले मेटाउन नसक्ने उल्लेख गर्दै कठिन परिस्थितिबाट गुज्रिरहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए।
ग्रुपले नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा प्रभावित नागरिकको साथमा उभिँदै आएको र पछिल्लो सहयोग पनि त्यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको जनाएको छ।
एमएडब्लू ग्रुपले बाढीमा परी ज्यान गुमाएका नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका परिवारप्रति सहानुभूति प्रकट गरेको छ।
साथै, विपद्को समयमा देशभर राहत, उद्धार तथा पुनःस्थापनाका लागि खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, सरकारी निकाय तथा स्वयंसेवकप्रति ग्रुपले आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि आवश्यकताअनुसार नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता ग्रुपले जनाएको छ।