चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि राजधानीमा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरै ग्यास भर्न थालिएको छ ।
ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै काठमाडौं आउन नसक्ने भएपछि नेपाल आयल निगमले उपत्यका तथा आसपासका ग्यास उद्योगलाई राजधानी बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भर्न अनुमति दिएको हो ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का उद्योगसँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाएका छन् । उनका अनुसार उपत्यका र आसपासका जिल्लामा मात्रै मुलुकको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गरेको छ ।
सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइने बताए।
उनका अनुसार राजधानी बाहिर भरेका ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने व्यवस्था गरिएको छ । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र आसपासका जिल्लामा तत्काल अभाव नहुने उनले बताए ।
उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरेका हुन् ।
कालाखेतीका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी तथा नेपाल ग्यासले नेपाल गण्डकी उद्योगसँग समन्वय गरी ग्यास भर्न सुरु गरेका छन् । एभरेष्ट र सुगम ग्यासले पनि साहारा उद्योगमा ग्यास भर्न थालेका छन् ।
अन्य उद्योगले समेत राजधानी बाहिरका उद्योग तथा एकअर्कासँग समन्वय गरी ग्यास भर्ने व्यवस्था मिलाइरहेको उनले जानकारी दिए ।