काठमाडौँ । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुआत गरेको छ । समूह ‘ए’अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गरेको हो ।
बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमै तीन विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रन बनाए । रोहितकुमार पौडेलले १४ बलमा १९ रन तथा आसिफ शेखले १९ रन जोडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो । बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । उहाँले १० ओभरमा चार मेडन राख्दै १४ रन मात्र खर्चिनुभयो । ललितनारायण राजवंशीले तीन तथा करण केसीले दुई विकेट लिए ।
बहराइनविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अङ्क जोड्दै समूह ‘ए’मा सुखद सुरुआत गरेको छ । नेपालले समूह चरणको अर्को खेल बिहीबार आयोजक मलेसियासँग खेल्नेछ ।