मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

रसुवागढी नाका बन्द भएपछि मालवाहक कन्टेनर कोरलातर्फ डाइभर्ट

सोमबार, भाद्र १५ २०८३

मुस्ताङ । रसुवागढी–केरुङ नाका विनाशकारी बाढीका कारण बन्द भएपछि चीनबाट आयात हुने मालवस्तु बोकेका कन्टेनर मुस्ताङको कोरला नाकातर्फ डाइभर्ट हुन थालेका छन् ।

रसुवागढी नाकामा बाढीले ठूलो क्षति पुर्‍याएपछि त्यस नाकाबाट पैठारी हुने मालवस्तु तथा कन्टेनर वैकल्पिक नाकाका रूपमा कोरला हुँदै नेपाल भित्रिन थालेका हुन् । सशस्त्र प्रहरीको जोमसोमस्थित चेकपोस्टले आइतबार साँझ कोरला नाकातर्फ गइरहेका ६६ वटा मालवाहक कन्टेनरको विवरण सङ्कलन गरेको जनाएको छ ।

रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि पछिल्लो समय कोरला नाकातर्फ जाने मालवाहक कन्टेनरको सङ्ख्या बढ्दै गएको सशस्त्र प्रहरीले जनाएको छ ।

कोरला नाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी हुने मालवस्तु कोरला नाकातर्फ डाइभर्ट गरिएकाले ती सामान ढुवानी गर्न आफूहरू कोरला जान थालेका हुन् ।

सरकारले कोरला नाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा सञ्चालनमा ल्याएपछि यसको राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ । कोरला भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै कार्यालयले २९ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार कार्यालयमा १८ जनाको दरबन्दी रहे पनि हाल १२ जना कर्मचारी मात्र कार्यरत छन् ।