शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

नक्कली बैंक स्टेटमेन्ट सार्वजनिक गरेको आरोपमा पक्राउ परेका कार्की रास्वपाका स्थानीय नेता

आइतबार, भाद्र १४ २०८३

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु एक लाख २० हजार जम्मा गरेको भन्दै नक्कली स्टेटमेन्ट, क्यूआर कोड र भौचर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका भगवान कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता रहेको खुलेको छ ।

रामेछापको गोकुलगङ्गा गाउँपालिका कार्यसमितिका सहसचिवसमेत रहेका कार्की वडा नं २ ठोसेका स्थायी बासिन्दा हुन् । आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने तयारीस्वरूप उनी रास्वपाको ‘क्यान्डिडेट क्लब’मा समेत सहभागी भइसकेको बताइएको छ ।

कार्कीले आफूले रु एक लाख २० हजार राहत कोषमा जम्मा गरेको दाबी गर्दै क्यूआर कोड र भौचर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनलाई चिन्ने केही व्यक्तिले उक्त रकम जम्मा गरेको विषयमा शंका गर्दै प्रहरीलाई जानकारी गराएको बताइएको छ ।

रास्वपाकै केही कार्यकर्ताले कार्कीको आर्थिक अवस्थाबारे प्रहरीलाई जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछाप, मन्थलीले ठोसे प्रहरी चौकीलाई खबर गरेको र त्यसपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

स्थानीयका अनुसार खेती–किसानी गर्दै आएका कार्कीसँग रु एक लाख २० हजार कोषमा जम्मा गर्न सक्ने आर्थिक क्षमता नरहेको दाबी गरिएको छ । वडा अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा उक्त विवरण सार्वजनिक भएपछि पार्टीको कार्यसमितिका तर्फबाट रकम जम्मा गरिएको हुनसक्ने ठानेर आफूहरूले तत्काल चासो नदिएको बताउनुभयो ।

पछि जिल्ला सदरमुकामबाटै अनुसन्धान गरी कार्की पक्राउ परेको जानकारी आफूले पाएको उहाँले बताउनुभयो ।

कार्कीको विगतमा राजनीतिक दल परिवर्तन गरिरहने र केही अराजक स्वभाव रहेको स्थानीयको दाबी छ । उनी पछिल्लो समय रास्वपाको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

यसैबीच रास्वपा रामेछापका सभापति रमेश रायमाझीले घटनाबारे आफूले बुझिरहेको बताउनुभएको छ । उहाँले कार्कीले गलत गरेको पुष्टि भए पार्टीले अनुशासनात्मक कारबाही गर्ने बताउनुभयो ।