कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिक साधारणसभा आगामी भदौ ३१ गते आयोजना गर्ने भएको छ। बैंकका अनुसार सभा काठमाडौंको बालुवाटार रोडस्थित आम्रपाली बैंक्वेटमा हुनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिने भएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृत लाभांशसम्बन्धी प्रस्तावअनुसार अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ साल असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव छ।
त्यसैगरी, बैंकका साधारण शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि साधारणसभाबाट पारित गरिनेछ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब तथा वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। साथै, बाह्य लेखापरीक्षक नियुक्तिलगायतका अन्य प्रस्तावसमेत सभामा पेश गरिने बैंकले जनाएको छ।
यसअघि बैंकले गत आर्थिक वर्षमा बोनस शेयर र नगद लाभांश गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गरेको थियो।
वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार भदौ १७ गतेसम्म कायम शेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।