मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

एसपी काफ्लेद्वारा मिटरब्याजसम्बन्धी समाचारको खण्डन

सोमबार, भाद्र ८ २०८३

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले आफूलाई मिटरब्याजसम्बन्धी गतिविधिमा संलग्न रहेको आरोपसहित प्रकाशित समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डन गर्दै काफ्लेले समाचारमा उल्लेख गरिएका मिटरब्याजसम्बन्धी कुनै पनि गतिविधि वा प्रकरणमा आफ्नो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

जिम्मेवार प्रहरी अधिकारीका रूपमा आफ्नो नाम र प्रतिष्ठासँग जोडेर प्रकाशित समाचार तथ्यहीन तथा भ्रामक रहेको उनले दाबी गरेका छन् ।

निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठलाई उद्धृत गर्दै आफूमाथि लगाइएका आरोपमा समेत कुनै सत्यता नरहेको काफ्लेले बताएका छन् ।

काफ्लेले आफू प्रहरी सेवामा रहेकाले कसैको व्यक्तिगत आर्थिक कारोबारमा संलग्न रहेको अर्थ लाग्ने गरी समाचार सम्प्रेषण गर्नु गलत हुने बताए। विवादित कारोबारसँग आफ्नो प्रत्यक्ष आर्थिक सम्बन्ध नरहेको दाबी गर्दै उनले आफूलाई बदनाम गर्ने उद्देश्यले विषयलाई ‘मिडिया ट्रायल’को रूप दिइएको हुन सक्ने आशंका व्यक्त गरे।

‘मलाई बदनाम गर्न र लिएको पैसा फिर्ता गर्न नपर्ला भन्ने सोचले निज व्यक्तिले मिडिया ट्रायल गरेको हुन सक्छ,’ काफ्लेले भने। यसअघि निर्माण व्यवसायी हर्कबहादुर श्रेष्ठसँगको आर्थिक कारोबारलाई लिएर काफ्लेमाथि ‘मिटरब्याज’को आरोप सार्वजनिक भएको थियो।

उनले आफूलाई मिटरब्याजसम्बन्धी गतिविधिमा संलग्न रहेको देखाउने गरी प्रकाशित सामग्रीले आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामा असर पार्न सक्ने भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।