शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

गिनीको ल्यान्डफिलमा पहिरो, ३० जनाको मृत्यु

सोमबार, भाद्र ८ २०८३

कोनाक्री । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् ।

आइतबार बिहान भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किँदा आसपासका झुपडी पुरिएका थिए । घटनामा छ जना गम्भीर घाइते भएका छन् भने धेरै घरमा क्षति पुगेको छ ।

अधिकारीहरूका अनुसार बिहान करिब २ बजेदेखि परेको भारी वर्षाका कारण फोहोर बगेर आसपासका बस्तीमा पुगेपछि पहिरो गएको हो । घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो ।

ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयलाई यसअघि नै सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना दिइएको थियो । तर, पहिरो जाँदा पनि धेरै मानिस त्यही क्षेत्रमा रहेको अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलमा पुगेर बाँकी परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ ।

खनिज स्रोतमा धनी गिनीमा विश्वकै ठूलो बक्साइट भण्डारका साथै फलाम, सुन र हीराजस्ता खनिज पाइन्छन् । तर, विश्व बैंकका अनुसार गिनीको ४३ दशमलव ७ प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ ।