रुपन्देही । रोजगारीका लागि मलेसियामा रहेका दाङको घोराही उपमहानगरपालिका–१७ निवासी रोमहर्ष कालाथोकीमाथि एकैपटक दुईवटा गम्भीर पीडा आइपरेको छ। काठमाडौँमा विदेश जाने तयारीमा रहेका उनका जेठा छोरा वसन्त कालाथोकीको हत्या भएको दुई दिन नबित्दै पत्नी बिनाको पनि मृत्यु भएको छ।
काठमाडौँ महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय वसन्त कालाथोकीको हत्या भएको थियो। छोराको हत्याको खबर सुन्नासाथ दाङको घोराहीस्थित घरमा रहेकी उनकी ३८ वर्षीया आमा बिना कालाथोकीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठका अनुसार छोराको मृत्युको खबर पाएलगत्तै दिउँसो करिब ३ बजेतिर घरमै बिनाको मृत्यु भएको थियो। घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो। शव हाल प्रतिष्ठानको शवगृहमा राखिएको छ।
परिवारका अनुसार बिनाको श्रीमान रोमहर्ष रोजगारीका सिलसिलामा मलेसियामा रहेका छन्। छोरा र पत्नीको निधनको खबर पाएपछि उनी सोमबार नेपाल फर्कने तयारीमा छन्। उनी नेपाल आएपछि मात्रै बिनाको पोस्टमार्टमलगायतका प्रक्रिया अघि बढाइने जनाइएको छ।
घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीका अनुसार विदेश जाने तयारीमा रहेका छोराको हत्या भएको खबरले विक्षिप्त बनेकी बिनाले पीडा सहन नसक्दा ज्यान गुमाएकी हुन्। घरमा रहेका ११ वर्षीय कान्छा छोरा शिशिरलाई हाल उनका हजुरबुवाको साथमा राखिएको छ।
स्थानीयका अनुसार वसन्त रोजगारीका लागि फ्रान्स जाने तयारीमा थिए। उनी भाषालगायतको तयारीका लागि काठमाडौँस्थित होस्टलमा बसेर अध्ययन गर्दै आएका थिए।
वसन्तमाथि कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा सोही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूले वसन्तको टाउको र घाँटीलगायतका भागमा प्रहार गरेको आरोप छ।
गम्भीर घाइते अवस्थामा वसन्तलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका आरोपी शेखर यादवलाई काठमाडौँबाट र प्रमित पटेललाई मकवानपुरबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
प्युठानको बेलवासबाट बसाइँ सरेर घोराही आएका कालाथोकी परिवारको आर्थिक अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्। परिवारको आर्थिक भार सम्हाल्न मलेसिया पुगेका रोमहर्षले एकैपटक छोरा र पत्नी गुमाएपछि स्थानीय समुदायसमेत शोकमा डुबेको छ।