काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरीले खानतलासी गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले बिहीबार अपराह्न भक्तपुरको निकोसेरास्थित प्रसाईंको घरमा खानतलासी गरेको हो।
लघुवित्त पीडितहरूले केही दिनदेखि काठमाडौंमा गर्दै आएको आन्दोलनलाई प्रसाईंले उक्साएको आरोप लाग्दै आएको छ। आन्दोलनका लागि थप तयारी भइरहेको सूचना पाएपछि प्रहरीले आकस्मिक रूपमा खानतलासी गरेको अनुसन्धान कार्यालयका एक अधिकृतले बताएका छन्।
लघुवित्त पीडितहरू केही दिनदेखि पुलचोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय परिसरमा धर्नामा बसिरहेका छन्।
प्रहरीले प्रसाईंको घरमा गरिएको खानतलासीका क्रममा के–के बरामद भयो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक गरेको छैन।