काठमाडौं, ४ भदौ । प्रहरीले ६६० किलोग्राम गाँजासहित सर्लाहीबाट दुई जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४ का ६३ वर्षीय नरबहादुर थिङ र ५२ वर्षीया जेसुनमाया थिङलाई बुधबार अपराह्न पक्राउ गरेको हो ।
शङ्का लागेपछि प्रहरी टोलीले नरबहादुरको घरमा तलासी गर्दा २६ वटा बोरामा राखिएको ५६० किलो गाँजा बरामद गरेको थियो ।
त्यस्तै, जेसुनमायाको गोठमा राखिएका चारवटा ड्रममा १०० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गाँजासहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।