मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

माछापुच्छ्रे बैंकको नाफा १२.३४ प्रतिशतले बढ्यो, २ अर्ब ११ करोडभन्दा बढी खुद नाफा

आइतबार, साउन ३१ २०८३

माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १२.३४ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । आम्दानीका प्रमुख स्रोतमा भएको सुधारसँगै बैंकको नाफा बढेको देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशतले बढेर ६ अर्ब ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म यस्तो आम्दानी ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ थियो। त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २३.३८ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २८ करोड ५२ लाख रुपैयाँ रहेको थियो ।

बैंकको कुल सञ्चालन आम्दानी ११.७५ प्रतिशतले वृद्धि भएर ८ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ७ अर्ब ४४ करोड ६ लाख रुपैयाँ थियो । यसैगरी, बैंकको सञ्चालन मुनाफा ०.५४ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पनि बैंकको सञ्चालन मुनाफा ३ अर्ब १४ करोड ७८ लाख रुपैयाँ हाराहारीमा रहेको थियो । बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ। अघिल्लो आवमा यस्तो मुनाफा ९३ करोड ६४ लाख रुपैयाँ थियो । बैंकको वार्षिकीकरण गरिएको वितरणयोग्य मुनाफा प्रतिसेयर ७ रुपैयाँ ५१ पैसा रहेको छ । यता, बैंकको खराब कर्जा (एनपीएल) अनुपात भने केही बढेको छ । अघिल्लो आर्थिक वर्षमा ३.९६ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ३.९८ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकको चुक्ता पुँजी १५ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ७ अर्ब ४३ करोड ६८ लाख रुपैयाँ रहेको छ भने सञ्चित मुनाफा ९८ करोड २० लाख रुपैयाँ पुगेको छ ।

बैंकले समीक्षा अवधिसम्म २ खर्ब २० अर्ब ४९ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस अवधिमा बैंकले १ खर्ब ६३ अर्ब ९९ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म बैंकको निक्षेप १ खर्ब ८४ अर्ब १७ करोड रुपैयाँ र कर्जा प्रवाह १ खर्ब ४१ अर्ब ४३ करोड ६० लाख रुपैयाँ रहेको थियो । यस आधारमा एक वर्षको अवधिमा बैंकको निक्षेप तथा कर्जा प्रवाह दुवैमा उल्लेख्य विस्तार भएको देखिन्छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४९ पैसा रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा र मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १४.१८ गुणा रहेको छ ।