खराब कर्जा बढ्दा वित्तीय सूचक दबाबमा
नेतृत्व परिवर्तनसहित विभिन्न आरोह–अवरोहबाट गुज्रिएको प्रभु बैंक लिमिटेड आर्थिक वर्ष २०८२/८३ मा घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा बैंकले २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा नाफाबाट घाटामा पुग्नुमा बैंकको खराब कर्जामा भएको तीव्र वृद्धि र त्यसबापत बढेको प्रोभिजनिङ प्रमुख कारण देखिएको छ । गत आर्थिक वर्षमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात अघिल्लो वर्षको ७.०१ प्रतिशतबाट बढेर १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जा दोब्बरभन्दा बढी बढेपछि बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापनका लागि ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो प्रोभिजनिङ २ अर्ब ४० करोड रुपैयाँ रहेको थियो । खराब कर्जाका कारण प्रोभिजनिङमा ठूलो रकम छुट्याउनुपर्दा बैंकको समग्र नाफामा प्रतिकूल असर परेको हो । यही कारण बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ ऋणात्मक देखिएको छ । यसले तत्काल लाभांश वितरण गर्न सक्ने अवस्थामा बैंक नरहेको संकेत गर्छ ।
बैंक घाटामा गए पनि आम्दानीका केही प्रमुख सूचकमा सुधार देखिएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २८.७२ प्रतिशतले बढेर ९ अर्ब २६ करोड ५७ लाख ८२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ७ अर्ब १९ करोड ७८ लाख ६४ हजार रुपैयाँ थियो । त्यस्तै, गत आर्थिक वर्षमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड ७२ लाख रुपैयाँ रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
गत असारसम्म प्रभु बैंकको निक्षेप संकलन १.७१ प्रतिशतले बढेर ३ खर्ब ४८ अर्ब ४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको कर्जा लगानी भने ४.८३ प्रतिशतले घटेर २ खर्ब १४ अर्ब ५४ करोड ६५ लाख रुपैयाँ मा सीमित भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६७.८६ प्रतिशत रहेको छ । निक्षेप बढ्दै गर्दा कर्जा लगानी घट्नुले बैंकसँग लगानीयोग्य स्रोत पर्याप्त भए पनि कर्जा विस्तारमा सावधानी वा मागमा कमी रहेको संकेत गर्छ । प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख २८ हजार रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।