राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकले आर्थिक वर्षको असार मसान्तसम्म ४ अर्ब ५५ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६०.६८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ८३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि उल्लेख्य बढेको छ। बैंकले ११ अर्ब ९६ करोड ६१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको १० अर्ब १५ करोड ३९ लाख रुपैयाँको तुलनामा १७.८५ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १४.१९ प्रतिशतले वृद्धि भएर १५ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी १३ अर्ब १८ करोड ५५ लाख रुपैयाँ रहेको थियो । बैंकको सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आवमा ३ अर्ब ९४ करोड २० लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा समीक्षा अवधिमा बढेर ६ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड ६९ लाख रुपैयाँ धनात्मक भएको छ । अघिल्लो आवमा बैंकको वितरणयोग्य मुनाफा ८५ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको थियो । यसले बैंकको लाभांश वितरण गर्न सक्ने क्षमतामा समेत सुधार आएको देखाउँछ । १५ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ कोषमा ३९ अर्ब ३७ करोड रुपैयाँ सञ्चित रहेको छ । समीक्षा अवधिमा बैंकले ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ३२ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको कुल सम्पत्तिको आकारसमेत उल्लेख्य बढेको छ । अघिल्लो अवधिमा करिब ५ खर्ब ८५ करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ७ खर्ब ७८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २९.१४ रुपैयाँ रहेको छ । यस्तै, बैंकको खराब कर्जा (एनपीएल) ३.९५ प्रतिशत कायम रहेको छ ।