आधिकारिक प्रसारण साझेदार बन्यो प्राइम टेलिभिजन
काठमाडौं । इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करणको तयारी तीव्र पारिएको छ। यही शनिबार काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी आयोजकले तयारी अघि बढाएको हो।
इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुने अवार्ड पहिलोपटक नेपालमा आयोजना हुन लागेको हो। यसअघि इन्फा अवार्डको पहिलो र दोस्रो संस्करण बेलायतको लण्डनमा सम्पन्न भएका थिए।
अवार्ड समारोहमा पुरस्कार वितरणसँगै सांगीतिक, नृत्य तथा हास्य प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रममा एलिशा शर्मा, रिहान गिरी, उषा उप्रेती, पल शाह, बाबुल गिरी, समर्पण लामा, कविता नेपाली, झुमा लिम्बु, खुशी कार्की, तेरिया फौजा मगर, दिया मास्केलगायत कलाकार तथा कमेडी दरबार टिमले प्रस्तुति दिनेछन्।
समारोहका लागि स्टेज सजावट, साउन्ड, लाइटिङ, प्राविधिक व्यवस्थापन तथा अतिथि स्वागतलगायतका काम अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
अवार्डमार्फत नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गरिनेछ।
अवार्डको तयारीका लागि इन्फा यूकेका अध्यक्ष उमेशराज मोक्तानसहित बोर्ड निर्देशकहरू टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल काठमाडौं आएका छन्। इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठ तथा बोर्ड निर्देशकहरू मनिष कार्की र मनोज केसी पनि तयारीमा सक्रिय छन्।
आयोजकले इन्फा अवार्डलाई पुरस्कार वितरणमा मात्र सीमित नराखी नेपाली फिल्म, भाषा, कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग सम्झौता
नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा हेरिएको तेस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (INFA Award)–२०२६ को आधिकारिक प्रसारण साझेदारका रूपमा प्राइम टेलिभिजन एचडीसँग सम्झौता भएको छ।
काठमाडौंको अनामनगरस्थित स्टार बोसमा आयोजित विशेष कार्यक्रममा इन्फा इभेन्ट्स यूकेका अध्यक्ष उमेशराज मोक्तान र प्राइम टेलिभिजनका निर्देशक एलिजा गौतमबीच अवार्ड समारोहको प्रत्यक्ष प्रसारणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर तथा आदान–प्रदान गरिएको हो।
सम्झौतासँगै आगामी शनिबार काठमाडौंस्थित याक एण्ड यति होटलमा आयोजना हुने इन्फा अवार्ड–२०२६ समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजन एचडीमार्फत गरिने भएको छ।

अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने कलाकार तथा चलचित्रकर्मीलाई सम्मान गरिनुका साथै सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।