काठमाडौँ । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाटले साउन १ देखि १५ गतेसम्म सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक गरेको छ।
कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बनेका छन्। उनले रु १० लाख पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, विजेता उपभोक्ता पुरस्कारतर्फ १३ जना छनोट भएका छन्। छनोट हुनेमा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ रहेका छन्।
विभागका अनुसार विजेता उपभोक्तामध्ये दुईवटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल विजेताको सूचीमा समावेश गरिएको छैन।
छनोट भएका विजेताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो।