काठमाडौँ । दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्। भूकम्पका कारण देशका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति भएको छ। भग्नावशेषमा अझै मानिस फसेको आशंका रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
कोलम्बियाली समयअनुसार बिहान ७ः३४ बजे गएको भूकम्पको केन्द्रबिन्दु चोको प्रान्तको सान होसे डेल पालमार क्षेत्रमा रहेको थियो। करिब १०० किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको भूकम्पको धक्का पश्चिमी कोलम्बियाका विस्तृत क्षेत्रमा महसुस गरिएको थियो।
भूकम्पबाट पेरेइरा, काली, मनिजालेस र क्विब्डोलगायतका सहर प्रभावित भएका छन्। पेरेइरामा मात्रै कम्तीमा ४० जनाको मृत्यु भएको विवरण छ। देशभर १ हजार ६ सयभन्दा बढी संरचनामा क्षति पुगेको र कम्तीमा ६१ वटा भवन पूर्ण रूपमा भत्किएको जनाइएको छ।
भूकम्पपछि कोलम्बिया सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ। उद्धार तथा राहत कार्यलाई तीव्र पार्दै सेना, सुरक्षाकर्मी, विशेष उद्धार टोली र आपत्कालीन सेवाका कर्मचारी परिचालन गरिएको छ। भग्नावशेषमा फसेकाहरूको खोजी तथा उद्धारका लागि टोलीहरू निरन्तर खटिरहेका छन्।
कालीलगायतका प्रभावित सहरमा ठूलो संख्यामा भवन तथा अन्य संरचनामा क्षति पुगेको छ। अस्पताल तथा स्वास्थ्य संस्थासमेत प्रभावित भएकाले घाइतेको उपचारमा चुनौती थपिएको बताइएको छ।
भूकम्पपछि विभिन्न क्षेत्रमा परकम्पसमेत महसुस भएका छन्। यसले भग्नावशेषमा उद्धार कार्यलाई थप जोखिमपूर्ण बनाएको अधिकारीहरूले बताएका छन्। प्रभावित क्षेत्रमा राहत सामग्री, स्वास्थ्य सेवा र अस्थायी आश्रयको व्यवस्था मिलाइएको छ।
अधिकारीहरूले नागरिकलाई सतर्क रहन तथा क्षतिग्रस्त भवनमा नजान आग्रह गरेका छन्। उद्धार कार्य जारी रहेकाले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने बताइएको छ ।