एभरेस्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा, निक्षेप, कर्जा तथा वितरणयोग्य मुनाफामा वृद्धि गर्दै वित्तीय अवस्था थप मजबुत बनाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब रुपैयाँ नाघेको छ भने बैंकले करिब ३८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता कायम गरेको जनाएको छ ।
विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँबाट ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी पनि सामान्य वृद्धि हुँदै ९ अर्ब १० करोड १९ लाख रुपैयाँबाट ०.९७प्रतिशतले बढेर ९ अर्ब १९ करोड ४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफामा पनि सुधार देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको७अर्ब ३४ करोड ८४ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा बढेर७अर्ब ३८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बैंकको व्यवसाय विस्तार पनि निरन्तर रहेको छ । गत असार मसान्तसम्म ग्राहकबाट संकलित निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब १६ अर्ब १ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा २ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँबाट बढेर २ खर्ब ३५ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड १६ लाख रुपैयाँबाट बढेर १३ अर्ब७२ करोड १३ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोषसहित बैंकको कुल इक्विटी ३५ अर्ब १९ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ कोषमा १५ अर्ब७२ करोड७८ लाख रुपैयाँ सञ्चित रहेको छ ।
बैंकले लाभांश वितरण गर्न सक्ने क्षमता पनि उल्लेख्य रूपमा सुदृढ बनाएको छ । गत असार मसान्तसम्म खुद वितरणयोग्य नाफा २ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश भुक्तानी समायोजनपछि कुल वितरणयोग्य नाफा ५ अर्ब २५ करोड७८ लाख रुपैयाँ पुगेको छ । यसका आधारमा बैंकले करिब ३८.३२ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको वित्तीय विवरणमा उल्लेख छ । यद्यपि समीक्षा अवधिमा निष्कृय कर्जा (एनपीएल) अनुपात भने सामान्य बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ०.३८ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात बढेर ०.४९ प्रतिशत पुगेको छ । यद्यपि यो अनुपात अझै पनि बैंकिङ क्षेत्रकै न्यून स्तरमध्ये एक मानिन्छ । चुक्ता पुँजी वृद्धि भएकाले बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने अघिल्लो वर्षको ३७रुपैयाँ ३९ पैसाबाट सामान्य घटेर ३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ ४७पैसा तथा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)७७.५७प्रतिशत रहेको छ।