मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

बिहारमा प्रशान्त किशोर विजयी, भाजपाको तीन दशकदेखिको किल्ला ढल्यो

मंगलबार, साउन १९ २०८३

काठमाडौं । भारतको बिहारस्थित बाँकीपुर विधानसभा निर्वाचन क्षेत्रमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्। भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो।

उपनिर्वाचनमा भाजपाका उम्मेदवार नीरज कुमारलाई पराजित गर्दै किशोर विजयी भएका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा कुमारले ४४ हजार ८२७ मत पाएका थिए।

किशोरको जितसँगै बाँकीपुरमा भाजपाको तीन दशक लामो वर्चस्व अन्त्य भएको छ। यस क्षेत्रमा सन् १९९५ यता लगातार भाजपाले जित्दै आएको थियो।

विजयी भएपछि किशोरले ‘३० वर्षदेखि कायम रहेको किल्ला केवल ३० दिनमै ढलेको’ प्रतिक्रिया दिएका छन्। उनले उक्त निर्वाचन एक जना सांसद चयन गर्ने विषयमा मात्र सीमित नभई प्रधानमन्त्री नरेन्द्र मोदी र संघीय गृहमन्त्री अमित शाहलाई सन्देश दिनका लागि भएको दाबी गरे।

उनले बिहारका जनताले विधानसभा निर्वाचनमा २०२ सांसद जिताएर बहुमत दिएको अवस्थामा राम्रो छवि भएको व्यक्तिलाई मुख्यमन्त्री बनाउनुपर्ने धारणा पनि राखे।

किशोरले एक सिटमा जित हासिल गर्दैमा अव्यावहारिक सपना नदेख्नसमेत आग्रह गरेका छन्। ‘म सांसद बन्नेबित्तिकै बाँकीपुर बैंग्लोर बन्दैन। तर जतिसक्दो परिवर्तन ल्याउन खोज्छौँ, जसकारण जनताले दुई–तीन महिनामै केही फरक महसुस गर्नेछन्,’ उनले भने।

किशोर विजयी भएसँगै बिहार विधानसभामा सांसदको संख्या २०१ पुगेको छ।

उपनिर्वाचनअन्तर्गत मध्यप्रदेशको डाटिया विधानसभा क्षेत्रमा भने कांग्रेसले जित हासिल गरेको छ। कांग्रेसका उम्मेदवार घनश्याम सिंहले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतको अन्तरले पराजित गरेका हुन्।

सिंहले ६६ हजार ७५७ मत प्राप्त गर्दा तिवारीले ६० हजार ७४१ मत पाएका छन्। यस क्षेत्रमा सन् २०२३ को विधानसभा निर्वाचनमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका थिए।

गुजरातमा भाजपाको जित

गुजरातको मञ्जपुर विधानसभा क्षेत्रमा भने भाजपाले सहज जित निकालेको छ। भाजपाका उम्मेदवार सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई करिब ३० हजार मतको अन्तरले पराजित गरेका हुन्।

यससँगै तीनवटा विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा भाजपा र कांग्रेसले एक–एक सिट जित्दा बाँकीपुरमा प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीले बाजी मारेको छ।