काठमाडौं । दीपमाला ढकालले मिस नेपाल वर्ल्ड २०२६ को उपाधि जितेकी छन्। पुल्चोकमा आयोजित ग्राण्ड फिनालेमा उनलाई मिस नेपाल वर्ल्ड घोषणा गरिएको हो।
प्रतियोगितामा आर्या निशान्त मिस नेपाल इन्टरनेशनल र कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएका छन्।
ढकालले यसअघि मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ को उपाधिसमेत जितिसकेकी थिइन्। अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा सक्रिय रहँदै आएकी उनी मोडलिङ, सार्वजनिक वक्तृत्व, सामाजिक अभियान तथा खेलकुदमा समेत निरन्तर संलग्न छिन्।
उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविकाका रूपमा समेत परिचित छिन्। विभिन्न क्षेत्रमा हासिल गरेको अनुभव र नेतृत्व क्षमताका कारण उनी मिस नेपालको बलियो दाबेदारका रूपमा स्थापित भएकी थिइन्।
दीपमालाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बन्ने कीर्तिमानसमेत बनाएकी छन्। प्रवासी नेपाली समुदायसँगको सक्रिय सहभागिता र नेतृत्व क्षमताका कारण उनी युवा पुस्तामाझ प्रेरणादायी व्यक्तित्वका रूपमा चिनिन्छिन्।
दीपमाला नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरसमेत हुन्। उनले लामो समयदेखि क्यान्सरसम्बन्धी जनचेतनामूलक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चलाई क्यान्सरसम्बन्धी जनचेतना फैलाउने अवसरका रूपमा उपयोग गर्ने उनको लक्ष्य छ। प्रारम्भिक परीक्षणको महत्वबारे विश्व समुदायलाई सन्देश दिने तथा क्यान्सरविरुद्धको जनचेतना अभियानलाई विश्वस्तरमा विस्तार गर्ने आफ्नो उद्देश्य रहेको उनले विभिन्न अवसरमा बताउँदै आएकी छन्।
दीपमालाको मिस नेपाल यात्रालाई पारिवारिक विरासतसँग पनि जोडिएको छ। उनकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। त्यसको तीन दशकपछि छोरीले मिस नेपालको ताज जितेपछि नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा एक पुस्ताबाट अर्को पुस्तासम्मको प्रेरणादायी यात्रा जोडिएको छ।
यससँगै दीपमालाको सफलताले नेपाली सौन्दर्य प्रतियोगितामा एउटा विशेष पारिवारिक अध्यायसमेत थपिएको छ। अन्तर्राष्ट्रिय क्षेत्रमा वित्तीय पेसासँगै सामाजिक अभियान, खेलकुद, मोडलिङ र नेतृत्वमा सक्रिय रहँदै आएकी दीपमालाका लागि मिस नेपाल वर्ल्डको उपाधि उनको बहुआयामिक यात्राको अर्को महत्वपूर्ण उपलब्धि बनेको छ।