काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बकसपत्र गराउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमि प्रशासन कार्यालय, ललितपुरका तीन नायब सुब्बासहित पाँच जनालाई पक्राउ गरेको छ।
अख्तियारले गएराति ललितपुर मालपोत कार्यालयका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगरलाई पक्राउ गरेको हो। उनीहरूसँगै लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाललाई पनि पक्राउ गरिएको अख्तियारले जनाएको छ।
जग्गाको बकसपत्र गराउने काममा सेवाग्राहीलाई दुःख तथा हैरानी दिएर घुस मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका पाँचै जनालाई एक होटलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। उनीहरूको साथबाट घुसबापतको तीन लाख रुपैयाँ बरामद भएको छ।
त्यसैगरी, अख्तियारले उनीहरूको साथबाट स्रोत नखुलेको थप २५ हजार रुपैयाँ समेत बरामद गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।