मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

काठमाडौंमा १ लाख २० हजार क्याप्सुल लागूऔषधसहित तीन जना पक्राउ

बुधबार, साउन १३ २०८३

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा कलैया–५ का २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्दै आएका २४ वर्षीय दीपक राई रहेका छन्।

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार भारतबाट अवैध रूपमा नेपाल ल्याइएको लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट ‘डामाडोल’ नामक लागूऔषधका १ लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल फोन तथा नगद नेपाली रुपैयाँ बरामद गरेको जनाएको छ।

पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध, नगद, सवारीसाधन र मोबाइलसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।