मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सुनसरीमा प्रहरीले चलाएको गोली लागेर एकको मृत्यु, पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सोमबार, साउन ११ २०८३

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित ११ जना घाइते भएका छन्।

प्रहरीका अनुसार गोली लागेर देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हाे ।

प्रारम्भिक अनुसन्धानअनुसार गएराति एक समूह डीजे बजाएर नाचिरहेको बेला अर्को समूहसँग विवाद भएको थियो। सामान्य भनाभनपछि झडप चर्किँदै हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको प्रहरीले जनाएको छ।

घटनामा गोली लागेर आठ जना सर्वसाधारण घाइते भएका छन् भने झडपका क्रममा तीन जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि सम्भावित थप तनाव रोक्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाका संवेदनशील पाँच बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार हरिनगर, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलाई कर्फ्युको दायरामा राखिएको छ।

हरिनगर बजार क्षेत्रमा पूर्वमा नुनियतोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यु लागू गरिएको छ। भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा इदगाह फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

त्यसैगरी, कप्तानगञ्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमासम्म कर्फ्यु लागू गरिएको छ। घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु तोकिएको छ।

देवानगञ्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकको मुसहर टोल, पश्चिममा मोरिया खोला, उत्तरमा चिउरा मिल र दक्षिणमा गाउँपालिका कार्यालय क्षेत्रभित्र कर्फ्यु आदेश लागू गरिएको प्रशासनले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।