मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

सिरहामा कर अधिकृत ५ लाख रुपैयाँ घुससहित पक्राउ

बिहिबार, साउन ७ २०८३

सिरहा । आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल पाँच लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको स्रोतले जनाएको छ।

प्राप्त जानकारीअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा कर अधिकृत पालले सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस मागेका थिए। उनले आफूभन्दा माथिका अधिकारी तथा अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै रकम मागेको आरोप लागेको छ।

घुस रकम उपलब्ध गराएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीबाट आवश्यक कागजातसमेत माग गरिएको बताइएको छ।

अख्तियारको टोलीले घुस लेनदेन भइरहेको अवस्थामा पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ। घटनाबारे अख्तियारबाट औपचारिक विवरण सार्वजनिक हुन बाँकी छ।