काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूलाई लक्षित गर्दै सामाजिक सञ्जालमा असम्बन्धित अश्लील भिडियो प्रचार गरिएको भन्दै कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै शाहीले उक्त गतिविधि आफ्नो चरित्रहत्या गर्ने उद्देश्यले गरिएको दाबी गरेका छन्।
“यदि संसारको कुनै पनि ठाउँको असम्बन्धित अश्लील भिडियो ल्याएर ‘यो तिम्रो हो’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरियो भने, त्यसपछि तिम्रो परिवारका सदस्यहरूले तिमीलाई कसरी हेर्थे ?” शाहीले आफ्नो पोस्टमा उल्लेख गरेका छन्।
उनले यस्ता गतिविधिबाट आफू विचलित नहुने र सत्य तथा जनसरोकारका विषयमा आवाज उठाइरहने बताएका छन्।
“चरित्रहत्या गरेर ज्ञानेन्द्र शाही प्रश्न सोध्नबाट रोकिन्छ वा सत्यको पक्षमा लड्नबाट पछि हट्छ भन्ने सोच राखेका छौ भने, त्यो तिमीहरूको भ्रम मात्र हो,” उनले लेखेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर फैलाइएका सामग्रीहरू भ्रामक रहेको भन्दै शाहीले त्यसप्रति सचेत रहन आग्रहसमेत गरेका छन्।