काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८३ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत एक खर्ब रुपैयाँ सङ्कलन गर्न बोलकबोल आह्वान गरेको हो। बोलकबोल प्रक्रिया आज अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ भने उपकरणको निष्कासन पनि आजै गरिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। यसअन्तर्गत सङ्कलित रकमको साँवा र ब्याज आगामी असोज २७ गते भुक्तानी गरिनेछ।
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिनेछ। सहभागी संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पनि पेश गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र बोलकबोलमा भाग लिन पाउनेछन्। आवेदन गर्दा निक्षेप गर्न चाहेको रकम र दशमलवपछि चार अङ्कसम्मको ब्याजदर उल्लेख गर्नुपर्नेछ।
केन्द्रीय बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गर्ने जनाएको छ। समान ब्याजदरमा माग बढी भए ‘प्रो–राटा’ आधारमा बाँडफाँट गरिनेछ। सम्पूर्ण वा आंशिक बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलन उपकरणलाई बैंकहरूको लगानी पोर्टफोलियोका रूपमा गणना गरिनेछ। यद्यपि, यसमा राखिएको रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नपाइनेछ। तर वैधानिक तरलता अनुपात (एसएलआर) र तरलता अनुपात गणनामा भने समावेश गर्न सकिने व्यवस्था छ। साथै, परिपक्व अवधि पूरा हुनुअघि पूर्वभुक्तानी (प्रि–म्याच्योर) सुविधा उपलब्ध नहुने स्पष्ट गरिएको छ।