काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा कारभित्र जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार स्थानीयवासीले कारभित्र एक व्यक्ति जलेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ।
प्रहरीका अनुसार मृतकको पहिचान, घटनाको प्रकृति तथा आगलागीको कारणबारे तत्काल केही खुल्न सकेको छैन। घटनास्थलबाट आवश्यक प्रमाण संकलन, मुचुल्का उठाउने कार्य तथा प्राविधिक परीक्षणको प्रक्रिया अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईको नेतृत्वमा खटिएको टोलीले घटनाका सबै पक्षबाट अनुसन्धान गरिरहेको जनाएको छ। शवको पहिचान र मृत्युको वास्तविक कारण खुलाउन फरेन्सिक परीक्षण तथा अन्य अनुसन्धानात्मक प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने जानकारी दिएको छ।